बुधबार, श्रावण १३, २०८३

प्रहरीले लिन मानेन खुलेआम भएको जातीय विभेदको मुद्दा

निसिखोला (बागलुङ), जेठ २२ – निसिखोला गाउँपालिका–७, मुनुनडाँडामा जेठ २० गते आयोजित सामूहिक भोजमा सहभागी दलित समुदायमाथि सार्वजनिकरूपमा अपमानजनक जातीय विभेद भएको छ। “मुनुन डाँडा कृषि तथा पशुपंक्षी महिला आमा समूह” द्वारा आयोजित उक्त भोजमा दलित महिलाहरूलाई छुट्टै राखेर व्यवहार गरिएको मात्र होइन, गालीगलौज र सामाजिक बहिष्कारसमेत गरिएको पीडितहरूको आरोप छ। दिउँसो करिब ३ बजे सुरु भएको भोजमा सोही वडाको आमा समूह अध्यक्ष देवी कुँवरसहित रुमा राणा, कुमारी पुन, तिलसरा पुन, नरकुमारी पुन, दुर्गा पुन, निमसरी घर्ती, हुमि राणा र टेकु कुँवरले जातीय घृणायुक्त शब्द प्रयोग गरी दलित महिलाहरूलाई अपमान गरेको पीडितले बताएका छन्।

“तिमीहरू कामी–दमाई, अलग्गै बस्नुपर्छ, हामीसँग बसेर खान मिल्दैन” भन्ने भनाइ दिँदै उनीहरूलाई विभेद गरिएको थियो। भोजका लागि सबै सदस्यलाई एक–एक गिलास र थाल लिएर आउन भनिएको भए पनि दलित महिला सदस्यहरू – मञ्जरी मगर बि.क., दुर्पती कामी, तुल्सी कामी र झरना बि.क. – जब भोजमा सहभागी भए, उनीहरूलाई घरबाट पकाएर ल्याएको खाना लिएर छुट्टै राखिएको थियो। विरोध गरेपछि झन् अपमानित बनाउँदै छोएको खाना समेत फालिएको दृश्य भिडियोमा देखिएको छ।

सबै भिडियोहरु: लिंक 

पीडित महिलाहरूका अनुसार, संस्थामा उनीहरूलाई नाचगान र कामका लागि मात्र प्रयोग गरिन्छ, तर आर्थिक पारदर्शिता हुँदैन। “संस्थाको पैसा के कति छ, कति खर्च भयो, कहिल्यै देखाइएको छैन। उल्टै कहिलेकाहीँ पैसा चलायौँ भने ब्याज तिर्नुपर्छ,” एक पीडित महिलाले भनिन्। घटना बाहिरिएपछि वडा अध्यक्षसहित राजनीतिक दलका प्रतिनिधिहरू विभेद गर्ने पक्षमै उभिएर “गाउँ ठाउँमा चाहिने मान्छे हो, मिलाएर जानुपर्छ” भन्दै पीडितलाई नै चुप लाग्न दबाब दिइएको पीडितहरूको गुनासो छ। तर पीडित महिलाहरू चुप लाग्न तयार छैनन्। उनीहरूले जेठ २१ गते इलाका प्रहरी कार्यालय बुर्तिबाङमा दोषीहरूमाथि कारबाहीको माग गर्दै संयुक्त निवेदन दिएका थिए। निवेदन दर्ता भए पनि प्रहरी प्रमुख आनन्द बस्नेतले “यहाँ यस्तो जाहेरी दर्ता हुँदैन” भन्दै लिखित जाहेरी लिन नमानेको पीडितहरू बताउँछन्।

नेपालको संविधान तथा “जातीय छुवाछुत तथा भेदभाव (कसुर तथा सजाय) ऐन, २०६८” अनुसार यस्तो जातीय विभेद गम्भीर आपराधिक अपराध हो। यस अन्तर्गत दोषीलाई तीन वर्षसम्म कैद वा तीस हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनसक्छ। तर, प्रहरीको उदासिनताले पीडितहरू थप पीडामा छन्। घटनापछि दलित अधिकारकर्मी तथा वडा सदस्य कुबिर विश्वकर्मा, रोशन विश्वकर्मा, अशोक स्मिथ, अनिल कुमार कमान्डर, सञ्जय सुनार, दिलीप थापा, एबी खाती, ठग ब. बिक, लोक ब. हर्मेल, देब बहादुर बिक, रोदन बिकलगायतका अभियन्ताहरू सशक्तरूपमा आवाज उठाइरहेका छन्।

पीडितहरूको एक स्वर छ – “हामीलाई नाच्ने बेला बोलाउने, खाना खान आउँदा अपमानित गर्ने, पैसा चलायौं भने ब्याज तिर्नुपर्ने – यस्तो अपमान अब सहँदैनौं।”

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
1
0
0
0
2
1

प्रतिक्रिया

लेखकको बारेमा

Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।
Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।

सम्बन्धित खबर