बुधबार, श्रावण १३, २०८३

किशोरीहरू न त घरमै सुरक्षित छन्, न सार्वजनिक स्थानमा, न त डिजिटल संसारमै

“सार्वजनिक स्थानमा महिलाको सुरक्षा”

नेपालमा धेरै महिलाका लागि सार्वजनिक स्थानमा निस्कनु आज पनि दैनिक जीवनको सामान्य हिस्सा नभई साहसको विषय बनेको छ। भीडभाड भएका सार्वजनिक सवारीसाधनदेखि लिएर कम बत्ती भएका सडक, पार्क र बजारसम्म महिलाको सुरक्षासम्बन्धी चिन्ता अझै गम्भीर छ। यसले महिलाको स्वतन्त्रता, मर्यादा र मौलिक अधिकारमा प्रत्यक्ष प्रभाव पारेको छ।

महिला तथा किशोरीहरूले विद्यालय, कलेज, कार्यस्थल, सडक वा साँझपख घर फर्कँदा नियमित रूपमा मौखिक, शारीरिक दुर्व्यवहार, अवाञ्छित व्यवहार र डराउने क्रियाकलापको सामना गर्नुपरेको छ। यस्ता घटनाले महिलाको मनमा भय सिर्जना गरेको छ। धेरै किशोरीहरू आफ्नो सुरक्षाका लागि केही बाटो, स्थान वा गतिविधि टार्न बाध्य छन्, जुन उनीहरूको चाहना होइन, परिस्थितिको बाध्यता हो।

चिन्ताजनक कुरा के छ भने आज महिलाहरू शैक्षिक संस्थाभित्र पनि पूर्ण रूपमा सुरक्षित छैनन्। कलेज तथा विश्वविद्यालयहरूमा हुने अवाञ्छित व्यवहार र दुव्र्यवहारले महिलाको आवाज दबाइरहेको छ। आफ्ना विचार स्वतन्त्र रूपमा व्यक्त गर्न उनीहरू डराउँछन्। कतिपय अवस्थामा राजनीतिक प्रभावका कारण बोल्ने महिलामाथि धम्की, अपमानजनक शब्द र सामाजिक सञ्जालमार्फत आक्रमण हुने गरेको छ।

आजका किशोरीहरू न त घरमै सुरक्षित छन्, न सार्वजनिक स्थानमा, न त डिजिटल संसारमै। यस्तो अवस्थाले एउटा गम्भीर प्रश्न उठाउँछ- ‘जब डरले महिलालाई पछ्याइरहन्छ, तब उनी कसरी सक्षम वक्ता वा नेतृत्वकर्ता बन्न सक्छिन्?’

“म घर फर्किन पनि डराउनु हुँदैन। म आफ्नो आवाज उठाउँछु र प्रत्येक महिलाको मर्यादा जोगाउँछु।”
सार्वजनिक स्थानमा महिलाको असुरक्षा केवल सुरक्षा समस्या मात्र होइन, यो मानवीय तथा मानवअधिकारको गम्भीर विषय हो। सभ्य समाज र राष्ट्रले महिलाका अधिकारप्रति स्पष्ट र प्रतिबद्ध हुनैपर्छ। जब महिलाले स्वतन्त्र रूपमा हिँड्न, बोल्न र निर्णय गर्न सक्दैनन्, तब उनीहरूको शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सहभागितामा प्रत्यक्ष अवरोध सिर्जना हुन्छ। यसले केवल महिलालाई मात्र होइन, संविधानद्वारा सुनिश्चित मौलिक अधिकारहरूलाई नै कमजोर बनाउँछ।

हाल विभिन्न संघसंस्था तथा निकायहरूले सडक बत्ती, सीसीटीभी जडान र सचेतनामूलक अभियानमार्फत महिलाको सुरक्षामा सुधार ल्याउने प्रयास गरिरहेका छन्। यी प्रयासहरू सराहनीय छन्, तर पर्याप्त छैनन्।

महिलाको वास्तविक सुरक्षा प्रविधिबाट मात्र सम्भव हुँदैन। सम्मान, जवाफदेहिता र सकारात्मक सामाजिक प्रतिबद्धता बिना कुनै पनि बत्ती वा क्यामेराले महिलालाई सुरक्षित अनुभूति गराउन सक्दैन। महिलाको मर्यादा तब मात्र सुरक्षित हुन्छ जब समाजले मौनता होइन, जिम्मेवारी रोज्छ।

“जब महिलाले आफू सुरक्षित महसुस गर्छिन्, तब पूरा समाज फूलझैँ फुल्छ।”

आजका छोरीहरू पुरातन कथाकी सीता होइनन्, जसले आफ्नो शुद्धता प्रमाणित गर्न अग्निपरीक्षा दिनुपर्थ्यो। आजका छोरीहरू सचेत, सक्षम र आफ्ना अधिकारका लागि लड्न तयार योद्धा हुन्। उनीहरूलाई सहानुभूति होइन, ऐक्यबद्धता चाहिन्छ; मौनता होइन, कार्य आवश्यक छ।

महिलाको सुरक्षा केवल महिलाको मुद्दा होइन-यो हाम्रो समाज र राष्ट्रको मानवताको मापन हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
3
0
21
13
0
4

प्रतिक्रिया

लेखकको बारेमा

Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।
Picture of ईन्टरटेन लयर्स

ईन्टरटेन लयर्स

इन्टरटेन लयर्स नेपालको विश्वसनीय कानुनी समाचार प्लेटफर्म हो, जुन निष्पक्ष कानुनी अपडेट, अदालतको समाचार, र कानुनी पेशेवरहरू र आम जनताका लागि जानकारीमूलक सामग्री प्रदान गर्न समर्पित छ।

सम्बन्धित खबर